अनुहारका विकृति सम्बन्धी उपचार गर्ने छुट्टै अस्पताल निर्माण हुने

जनकपुरधाम, २० साउन । खुँडोपनासहित अनुहारका विविध समस्याको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर जनकपुरधाममा अस्पतालको स्थापना हुने भएको छ । जनकपुरधाम वडा नम्बर ८ मा नेशनल इन्स्टिच्युट अफ क्रेनोफेसियल सर्जरी नामक अस्पतालको स्थापना हुने भएको हो ।

अनुहारमा खुँडोपनासहितका समस्या भएकालाई निशुल्क शल्यक्रिया गरी उपचार गर्ने उद्देश्यले स्थापना हुन लागेको यो अस्पतालको शनिबार मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले शिलान्यास गर्नुभएको छ । खुँडोपनासम्बन्धी आंशिक उपचार सेवा शनिबारबाटै सुरु भइसकेको छ भने शल्यक्रियालगायतका पूर्ण सेवा आफ्नै भवन निर्माण पश्चात् सुरु हुने अस्पतालले जनाएको छ ।

यो अस्पताल जर्मनीका क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनल संस्थाको सहयोगमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख मिश्रले यो अस्पतालमा सबै वर्गका बालबालिकाहरूको बिग्रेका अनुहारको शल्यक्रिया निःशुल्क उपचार हुनु हर्षको विषय भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका बिनाविभागीय मन्त्री सुरिताकुमारी साहले यस्ता परोपकारी संस्थाले जनकपुरधाममा शाखा स्थापना गरेर सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा. अंकुर साहले जनकपुरधाममा खँुडोपना तथा अनुहारका अन्य समस्याहरूको शल्यक्रिया तथा उपचार निःशुल्क रूपमा हुनु सुखद भएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष डा. सुमित सिंहले संस्थाले पहिलो पटक काठमाडौँको बसुन्धरामा रहेको अस्पतालमा ३ सय २४ जनाको निःशुल्क परीक्षण गर्नुका साथै ५२ जनाको निःशुल्क शल्यक्रियासमेत गरेको जानकारी दिनुभयो । उहाँले जनकपुरधाममा पनि अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि यस ठाउँका आम जनताले ठूलो लाभ पाउने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा डा. विजयकुमार सिंहलगायत चिकित्सकहरू सहभागी भएका थिए । नेपालमा पहिलोपटक अनुहारका विकृतिसम्बन्धी उपचारका लागि मात्रै लक्षित गरी यो अस्पतालको स्थापना गर्न लागिएको हो । काठमाडौँको नख्खुमा सञ्चालनमा रहेको अस्पताललाई विस्तार गरी जनकपुरधाममा पनि स्थापना गर्न लागिएको हो । अस्पतालले सबैलाई निःशुल्क सेवा दिने पनि स्पष्ट पारेको छ । नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृति सम्बन्धी समस्या हुने गरेको छ ।

Scroll to Top
× Welcome to NICS. How can we help you?